Mr. Hom Bahadur Dong

Executive Director

Message from Executive Director

नेपालभरी छरिएर रहेका बौद्ध धार्मिक आस्थाका केन्द्रहरुलाइ अभिलेखबद्ध गर्नुका साथै बौद्ध धर्म दर्शनको संरक्षण र ब्यवस्थापनमा समयानुकुल फड्को मार्न, नियमन गर्न र समितिबाट सञ्चालित कार्यक्रमहरुलाइ अझै प्रभावकारी र परिणाममुखी बनाउन नयाँ आयामबाट अघि बढ्नुपर्ने आवश्यकता समितिले महसुस गरेको छ । 

विश्वजनमानस समक्ष नेपाल बुद्धको जन्मभूमिको रुपमा परिचित छ । सुन्दर भौगोलिक बुनोटसँगै धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका सम्पदाहरुले देशको गरिमा थप उजिल्याउँन सघाउँदै आएका छन् । जसमध्ये बौद्ध धर्म, दर्शन, कला, संस्कृति, सभ्यताका अनुपम उदाहरण यहाँका गुम्बा, विहार, बहाल, बहिल, छर्योतेनका धार्मिक, सांस्कृतिक लयहरुमा प्रशस्तै भेट्न सकिन्छ ।

यी सबै सम्पदाहरुको दिगो संरक्षण गर्दै बौद्ध दर्शनको प्रर्बधन र बिस्तारको लागि समितिले आफ्नो स्थापना कालदेखि नै अहम् भूमिका निर्वाह गर्दै आएको कुरा सर्वविदितै छ । नेपालभरी छरिएर रहेका बौद्ध धार्मिक आस्थाका केन्द्रहरुलाइ अभिलेखबद्ध गर्नुका साथै बौद्ध धर्म दर्शनको संरक्षण र ब्यवस्थापनमा समयानुकुल फड्को मार्न, नियमन गर्न र समितिबाट सञ्चालित कार्यक्रमहरुलाइ अझै प्रभावकारी र परिणाममुखी बनाउन नयाँ आयामबाट अघि बढ्नुपर्ने आवश्यकता समितिले महसुस गरेको छ । जस अनुरुप निर्दिष्ट लक्ष्य प्राप्तिको लागि आगामी योजना तथा कार्यक्रमहरु थप गाम्भीर्यतामा साथ अघि बढाउनुपर्ने चुनौति हामीमाझ रहेको छ । यिनै चुनौतिहरुमाझ केन्द्रिय तथा प्रादेशिक गुम्बा निर्माणार्थ यतिबेला समितिले तदारुकता देखाइरहेको छ ।

कोभिड १९ को विश्वब्यापी महामारीको चपेटामा समितिको लक्ष्य तथा कार्यक्रमको प्रगतिमा उत्साहजनक उपलब्धि हासिल हुन सकेन । र पनि कोरोना कहरको कठिन समयबाट गुज्रिदै समितिले हासिल गरेको उपलब्धिलाई अर्थपूर्ण र सन्तोषजनक नै मान्न सकिन्छ । अन्त्यमा, बौद्ध दर्शनको मूल मर्मलाइ ग्रहण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउँन समिति सदैव अग्रसर रहने प्रतिबद्धता ब्यक्त गर्दछु ।